पोखरा महानगरपालिकामा कृषि
१. परिचय
परम्परागत रुपमा निर्वाहमुखी खेती प्रणालीको अवलम्बन गरिदै आएको र कृषि विकासका लागि संचालनमा आएका क्रियाकलापहरु छरिएर जाने गरेकाले प्रतिफलमुखी हुन सकेका छैन । कृषिलाई नाफामूलक व्यवसायका रुपमा स्थापित गर्न नसक्दा निजि क्षेत्र र रोजगारीका लागि युवा उद्यमीहरु आकर्षित हुन सकेको छैन । गुणस्तरीय कृषि उत्पादन सामग्रीहरुको उपलब्धता सुनिश्चित गर्न नसक्नु, कृषि उपज उत्पादनमा यान्त्रिकरण अवलम्वन हुन नसक्नु र कृषि विकासका लागि आवश्यक प्रबिधि, सिंचाई, कृषि सडक, कृषि उद्योगहरुसंगको समन्वयको अभाव रहदै आएको तथा ब्यबस्थित बजार ब्यबस्थापन हुन नसकेकाले कृषिलाई व्यवसायका रुपमा नभई परम्पराका रुपमा मात्र अवलम्बन गरिदै आइएको छ ।
पोखरा नेपालको सबभन्दा ठूलोे तथा पर्यटकीय दृष्टिकोणले एक नमुना महानगर हो । गण्डकी प्रदेशको राजधानी समेत रहेको यो क्षेत्रमा बढदो शहरीकरण, यातायात बिस्तार, जनसंख्या सँगै खाद्यान्न माथिको चाप बढदै गइरहेको छ । मुख्य शहरमा घना बस्ती, जग्गा घडेरिकरण तथा गाउँ स्तरमा देखिएको बढ्दो बाँझोकरण ले गर्दा कृषि उत्पादन तथा वितरणमा समस्या देखा परेको छ । दैनिक उपभोग्य बस्तुमा बढदै गएको परनिर्भरताका कारण बाह्य क्षेत्रबाट आयत गरिरहनुपरेको छ । तर बिस्तारै तरकारी, फलफूल, खाद्यान्न उत्पादन तथा पशुपालन हाल आएर व्याबसायिकता तर्फ द्रुत रुपमा अघि बढेको छ । व्यवसायिक कृषिको कारणले रोजगारीको अवसर र आम्दानीमा बृद्धि भई कृषकहरुको जीवन पद्धतीमा सुधारात्मक परिवर्तन ल्याउन सहयोग गरेको देखिन्छ ।
जैविक विविधता ले भरिपुर्ण ४६४.४ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको महानगरको तल्लो भेग कोत्रे ( लगभग ५०० मिटर ) देखि मिटर देखि पन्चासे, अर्मलाकोट ( लगभग २६०० मिटर ) सम्मको उचाइमा अवस्थित रहेको छ । पोखरा महानगरको कुल क्षेत्र मध्ये ४६ प्रतिशत भुमि कृषि योग्य जग्गा रहेको, ४१ प्रतिशत क्षेत्र जंगल, ८.३ प्रतिशत क्षेत्र संरचना, पानि ले ओगटेको क्षेत्र २.९५ प्रतिशत तथा बाकि प्रतिशत अन्य क्षेत्र रहेका छन् | यस पालिकाका ३३ वडाहरु मध्ये १३ वडाहरुमा सघन बस्ती र मुख्य बजार क्षेत्र भएका कारण उपभोक्ता बढी भएका क्षेत्रहरु छन् भने बाँकी २० वडाहरुमा कृषियोग्य भूमी भएको, विविध बाली उत्पादन गर्न सकिने, सडकको सन्जालले जोडिएको, मूख्य बजारबाट नजिक भएकोले ब्यवसायिक कृषि को लागि प्रशस्त सम्भावना भएका क्षेत्र हुन् । मध्यपहाडि क्षेत्र अन्तर्गत पर्ने यो क्षेत्रमा बिबिध बालीहरुको खेती गर्न सकिन्छ तैपनि प्राविधिक दृष्टिकोणले ब्यवसायिक रुपमा उत्पादन गर्न सकिने र बजारको माग भएका बालीहरुमा फलफुल तर्फ सुन्तला जात, कफी, आलु, तरकारी – मौसमी तथा बेमौसमी, खाद्यान्न तर्फ धान, मकै, कोदो, फापर, तोरी मसला तर्फ अलैंची, अदुवा, बेसार, अन्य बाली तर्फ मौरी पालन, च्याउ खेती, माछापालन, फुल खेती को प्रबल सम्भावना रहेको छ । यसका साथै उच्च मूल्यका बस्तुहरु एभोकाडो, किवी, मेकाडेमिया नट, केरा आदिको पनि सफल परिक्षणहरु भइसकेका छन् । उपभोक्ताको बढ्दो माग, वातावरणमैत्री, दिगो तथा गुणस्तरीय कृषि उत्पादनको लागि प्रांगारिक उन्मुख कृषि प्रणालीको आवश्यकता छ । स्थानीय तथा बाह्य पर्यटकको माग सम्बोधन गर्न जैविक विविधता, स्थानीय बस्तुको प्रयोग तथा प्रचार प्रसार को लागि कृषि पर्यटनमा जोड दिनु उत्तिकै जरुरी देखिन्छ । यस क्षेत्रलाई बिशेष रुपमा चिनाउने र विगत देखि नै व्यवसायिक रुपमा उत्पादन गरिदै आएका कृषि उत्पादनलाई थप बिस्तार, ब्यवसायिक, गुणस्तरीय र रोजगारीमूलक बनाउने योजना संचालन गर्ने मुख्य उद्देश्य रहेको छ | पोखरा महानगरभित्र सम्भावना रहेका बिभिन्न बालीहरु वा कृषि उपजहरुलाई क्षेत्र बिस्तार गर्दै बिभिन्न सरोकारवालाहरुको सहकार्यमा प्रवद्र्धन गर्ने र यी क्षेत्रबाट उत्पादन हुने कृषि बस्तुहरुलाई ब्रान्डिंग गरी स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा लैजाने लक्ष्य रहेको छ ।
यिनै पृष्ठभूमिलाई मध्यनजर गर्दै कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आबश्यक प्रविधि तथा उत्पादन सामाग्रीको ब्यवस्था, बाली र बस्तु उत्पादनमा यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणको लागि आबश्यक पूर्वाधारको ब्यवस्था गर्दै कृषि क्षेत्रको आधुनिकिकरणको परिकल्पना गरिएको छ ।
२. रणनिति तथा कार्यनिती
१. भूमिको वैज्ञानिक उपयोग– सामुहिक/सहकारी खेती, सार्वजनिक जग्गाको प्रयोग, जग्गा चक्लाबन्दी, करार, बाझो जमिनको सदुपयोग, भुमी बैंक मार्फत जग्गाको परिचालन |
२. आधुनिक कृषि प्रविधिहरुको अवलम्बन – गुणस्तरीय उत्पादन सामाग्री, आधुनिक कृषि प्रविधी प्रदर्शन, असल कृषि अभ्यासको प्रयोग, डिजिटल कृषि |
३. सिंचाइमा जोड – प्लाष्टिक पोखरी, पाइप सिंचाई, टयांकी, लिफ्ट प्रणाली, थोपा सिचाई को प्रयोग |
४. यान्त्रिकीकरण – कस्टम हायरिंग सेन्टर स्थापना, उत्पादन प्रबर्दनको लागि बाली बिशेष तथा भूगोल अनुसार महिला मैत्री कृषि यन्त्रको उपयोग तथा परिचालन |
४. कृषि उपजहरुको मुल्य अभिवृद्धि तथा बजारीकरण– कृषि उपज संकलन केन्द्र, कृषि उपज खरिद बिक्रि केन्द्र, किसान बजार, ढुवानी साधन, भण्डारण घर, प्याक हाउस, ब्राण्डीङ्ग, कोल्ड स्टोर स्थापना, संचालन तथा व्यवस्थापन |
५. किसान बर्गिकरण, डिजिटल कृषि तथ्यांक तथा प्रचार प्रसार – आधारभुत तथा बिश्वसनिय कृषि तथ्यांक संकलन, उपयोग, जनस्तर सम्म सूचनाको पहुँच, जनचेतना, प्रविधी हस्तान्तरण |
६. प्रतिफलमा आधारित प्रोत्साहन प्रणाली – कृषि उपज उत्पादन, क्षेत्रफल तथा बजारयोग्य बस्तुको उल्लेख्य वृद्धि गर्ने समूह, सहकारी, उद्यमीलाई गुणस्तरको आधारमा प्रोत्साहन गर्ने |
७. गुणस्तर नियन्त्रण, अनुगमन, स्वच्छ बस्तु उत्पादन तथा ब्रान्डिंड – नियमित बिषादी अवशेष बिश्लेषण परिक्षण, पोषण तत्व परिक्षण तथा प्रचार, बाली बिशेष लोगो लगाइ बजारिकरण गर्ने
८. वातावरण मैत्री कृषि प्रविधी – प्रांगारिक खेतीमा जोड, कृषि पर्यटन, जैविक विविधताको संरक्षण, प्रबद्र्धन र उपयोग, प्राकृतिक प्रकोप न्युनिकरण योजना |
९. क्षमता बिकास, ज्ञान, सीप क्षमता अभिवृद्धि तथा प्राविधिक सेवा : सम्बन्धित सरोकारवालाको क्षमता अभिवृद्धि, सिपमूलक तथा क्षमता अभिवृद्धि तालिम, बाली बिशेष अनुसार बिज्ञ प्राविधिकको व्यवस्था गरी नियमित सेवा प्रवाह गर्ने, सेवा केन्द्र मार्फत वार्ड स्तरमा नियमित सेवा प्रबाह |
१०. समन्वय, सहकार्य, सहलगानी, दिगोपना : एक द्धवार प्रणाली मार्फत अन्य संघ संस्था सँगको साझेदारीमा कार्यक्रम संचालन गर्ने, निजी क्षेत्रको लगानी आकर्षिक गर्ने, एकीकृत कृषि बिकासको मोडलमा कार्यक्रम संचालन गर्ने, स्थानीयको संलग्नता, साझेदारीता तथा स्वामित्वको सुनिस्चितता गर्ने |